पतञ्जलि जग्गा प्रकरण: माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा आइतबार सुनुवाइ

nepaltext.com

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेतविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ। विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा उक्त मुद्दामाथि सुनुवाइ हुने भएको हो। यसअघि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपाललगायतका विषयमा अनुसन्धान गरी तामेलीमा राख्ने निर्णयसँग सम्बन्धित सम्पूर्ण फाइल झिकाउन आदेश दिएको थियो। अख्तियारबाट उक्त फाइल अदालतमा प्राप्त भएसँगै मुद्दाको नियमित सुनुवाइ प्रक्रिया अघि बढाउँदै आइतबारका लागि पेसी तोकिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै जरिवाना र कैद सजाय मागदाबी गरेको छ। तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले आफ्नो पदको दुरुपयोग गरी सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत तथा संस्थागत स्वार्थमा हस्तान्तरण गराएको र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप अख्तियारको अभियोगपत्रमा उल्लेख छ। नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबार गर्न स्वीकृति दिएको र त्यसअघि २०६६ माघ १८ गते ठाडो आदेशमार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गर्न अनुमति दिएको दाबी गरिएको छ। ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरी भ्रष्टाचार गरिएको अभियोगमा ९३ जनाविरुद्ध मुद्दा दायर गरिएको हो, जसमा अख्तियारले कुल १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ।

प्रतिक्रिया