एमाले दोलखामा पहिरो: शिवाकोटीको अनुपस्थिति र सामूहिक राजीनामाले पार्टी गहिरो संकटमा

nepaltext.com

दोलखा । नेकपा एमालेको बलियो आधार इलाका मानिने दोलखा जिल्लामा प्रतिनिधि सभा उम्मेदवार चयनलाई लिएर चुलिएको आन्तरिक विवाद अहिले गम्भीर संकटको मोडमा पुगेको छ। पार्टीको आधिकारिक उम्मेदवार चयनप्रति तीव्र असहमति जनाउँदै प्रमुख आकांक्षी बालकृष्ण शिवाकोटी मनोनयन दर्ता प्रक्रियामा पूर्ण रूपमा अनुपस्थित रहेपछि एमालेभित्रको कलह सतहमा आएको हो। उम्मेदवारी दर्ता जस्तो महत्वपूर्ण अवसरमा शिवाकोटी मात्र होइन, उनी पक्षधर र यसअघि नै सामूहिक राजीनामा घोषणा गरेका जिल्ला तथा स्थानीय तहका प्रभावशाली नेताहरूको ठूलो पंक्ति समेत सहभागी नहुनुले दोलखा एमालेभित्र संगठनात्मक विघटनको गम्भीर संकेत देखाएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यो अवस्था केवल व्यक्तिगत असन्तुष्टि वा पदको खिचातानी मात्र नभई पार्टीको आन्तरिक संरचनामा देखिएको गहिरो समस्याको परिणाम हो। वर्षौँदेखि संगठन निर्माणमा खटिएका र जनस्तरमा बलियो पकड भएका नेताहरू नै प्रक्रियाबाट अलग रहनुले एमालेको संगठनात्मक ढाँचामा ठूलो क्षति पुग्ने देखिएको छ। प्रभावशाली नेताहरू र उनीहरूका समर्थकहरू सामूहिक रूपमा निष्क्रिय रहँदा पार्टीको चुनावी अभियान नै प्रभावित हुने र यसले कार्यकर्ता तहमा चरम अन्योल, आक्रोश र निराशा पैदा गरेको छ। आफ्नै पार्टीका नेतृत्व तहबाटै अपेक्षित समन्वय नहुँदा स्थानीय स्तरमा पार्टीको साख जोगाउन कठिन हुँदै गएको स्थानीय नेताहरूको बुझाइ छ।

यस असन्तुष्ट समूह र उनीहरूले उठाएका मुद्दालाई नेतृत्वले तत्काल सम्बोधन नगरेमा आगामी निर्वाचनमा एमालेका लागि परिणाम प्रतिकूल हुन सक्ने प्रबल सम्भावना छ। मनोनयन दर्तामा देखिएको यो 'बहिष्कार' ले आगामी दिनमा मत विभाजन हुने, अन्तर्घात बढ्ने र अन्ततः एमालेको विरासत नै धरापमा पर्न सक्ने खतरा बढाएको छ। नेतृत्वले समयमै असन्तुष्ट पक्षलाई वार्ताको टेबुलमा ल्याएर चित्तबुझ्दो समाधान नखोजेमा दोलखा एमालेको संकट चुनावी नतिजासम्मै पुग्ने र त्यसले पार्टीलाई लामो समयसम्म असर पार्ने निश्चित देखिएको छ।

प्रतिक्रिया