पूर्वप्रधानमन्त्री प्रचण्ड: “हामीले संविधान र राष्ट्रपति संस्था बचायौँ”

nepaltext.com

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन-जी आन्दोलनको समयमा आफू र माधव नेपालले सहजीकरण नगरे देश ठूलो राजनीतिक संकटमा पर्ने अवस्था आएको बताएका छन्। बागलुङको बुर्तिबाङमा कार्यकर्तासँगको जनसंवादमा प्रचण्डले तत्कालीन अन्तरिम सरकार र निर्वाचन नै विकल्पको रूपमा देखिएको र त्यसैअनुसार उनीहरूले सहजीकरण गरेको बताए। उनले भने, “सतही रूपमा हेर्दा जेन-जी आन्दोलन जलाउने र लुट्ने मात्र देखिन्थ्यो, तर भित्रभित्र संविधान नै खारेज गराएर कठपुतली सरकार बनाइ देशलाई युक्रेनजस्तो बनाउने योजना चलाइएको हामीले थाहा पायौँ। त्यसबेला समाधानका रूपमा अन्तरिम सरकार र निर्वाचनको विकल्प मात्र देखिन्थ्यो। म र माधव नेपालले सहजीकरण गर्यौँ। यदि हामीले विवेक प्रयोग नगरेको भए, त्यो ठूलो दुर्घटना हुन सक्थ्यो।”

प्रचण्डले संविधान र राष्ट्रपति संस्थालाई बचाउन सफल भए पनि केही व्यक्तिहरू प्रभावित भएको बताए। प्रारम्भमा देश चुनावतर्फ जाने कि नजाने भन्ने शंका भए पनि अहिले पूरा मुलुक र जनता चुनावतर्फ लागिसकेको दाहालले बताए। उनले थपे, “कतिपयले सर्वपक्षीय सरकार र संसद पुनःस्थापनाको कुरा गरिरहेका थिए, तर हामी मात्र जनतामा जाने विकल्प हो भन्नमा अडिग थियौँ। आज हामी खुसी छौँ कि सबै राजनीतिक दलहरू आम जनतालाई चुनावतर्फ लैजान तयार भएका छन्।”

प्रतिक्रिया