खोटाङमा बिहे भोजपछि एक सयभन्दा बढी बिरामी, फुड पोइजनिङको आशंका

nepaltext.com

विराटनगर । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा विवाहको भोज खाएका एक सय जनाभन्दा बढी व्यक्ति बिरामी परेका छन्। स्थानीय बर्णबहादुर राईका छोराको माघ २१ गते सम्पन्न विवाह भोजमा सहभागी भएका बेहुला–बेहुलीसहित स्थानीय र निम्तालुहरू भोलिपल्ट माघ २२ गते बेलुकादेखि एकपछि अर्को गर्दै बिरामी पर्न थालेको प्रहरीले जनाएको छ। सुरुमा ज्वरो आउने, काँप्ने तथा झाडापखाला लाग्ने लक्षण देखिएको जन्तेढुंगा गाउँपालिका अध्यक्ष अरुणादेवी राईले जानकारी दिइन्। उनका अनुसार आज मात्रै थप ४५ जना बिरामी परेका छन् भने निको भएर घर फर्किएका केही व्यक्तिमा फेरि समस्या देखिएपछि पुनः उपचारका लागि स्वास्थ्य संस्थामा आउने क्रमसमेत जारी छ। हाल पनि एक सयभन्दा बढी बिरामी उपचाररत रहेको र उनीहरूको अवस्था क्रमशः सुधारोन्मुख रहेको बताइएको छ। बिरामीको चाप बढेपछि गाउँपालिकाले दिप्लुङकै निगालावास भञ्ज्याङमा माघ २३ गतेदेखि स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। प्रारम्भिक अनुमानअनुसार भोजमा प्रयोग गरिएको खाद्यवस्तु वा पानीका कारण फुड पोइजनिङ भएको हुन सक्ने आशंका गरिएको छ। गाउँपालिकाले विवाह भोजमा करिब दुई सय जनाले खाना खाएको अनुमान गर्दै सबै बिरामीको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया