ललितपुरमा चितुवाको आक्रमणबाट एक जना घाइते

nepaltext.com

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकामा चितुवाको आक्रमणबाट एक जना वृद्ध गम्भीर घाइते भएका छन्। गएराति साढे ८ बजे गोदावरी नगरपालिका–५ सुनारटोलस्थित गोरेटो बाटोमा सोलुखुम्बु घर भएका ६१ वर्षीय रण बहादुर गर्तौलालाई चितुवाले आक्रमण गरेको हो। कामबाट घर फर्किने क्रममा एक्कासी झाडीबाट निक्लेको चितुवाले उनलाई आक्रमण गरेको प्रहरीले जनाएको छ।

चितुवाको आक्रमणमा परेका गर्तौलालाई बचाउने क्रममा स्थानीय बासिन्दाले प्रतिकार गर्दा चितुवा मारिएको छ। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी परिसर ललितपुर मातहतको प्रहरी चौकी लेलेबाट खटिएको टोलीले घाइतेको उद्धार गरेको थियो। घाइते गर्तौलालाई आफन्तको सहयोगमा लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको र हाल त्यहाँ उनको उपचार भइरहेको छ।

प्रहरीका अनुसार मृत चितुवाको व्यवस्थापनका लागि जिल्ला वन कार्यालयसँग आवश्यक समन्वय भइरहेको छ। मानव वस्ती नजिकै चितुवा देखिएपछि स्थानीय त्रसित बनेका छन्। वन कार्यालयले यस्ता जंगली जनावरको आक्रमणबाट बच्न र रातिको समयमा सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया