रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध तोकियो रिटमा सुनुवाइ

nepaltext.com

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेज गरिएको विषयमा दायर रिटमा अब अदालतमा सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतले चौधरीको रिट निवेदनमाथि सुनुवाइका लागि न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा पेसी तोकेको हो। यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्न आदेश दिएको थियो भने अन्तरिम आदेशको विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन निर्देशन दिएको थियो। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन पत्र दर्ता गराएका चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उक्त निर्णयविरुद्ध उनी अदालत पुगेका हुन्। अब संयुक्त इजलासमा हुने सुनुवाइले यो विषयले कस्तो मोड लिन्छ भन्नेमा राजनीतिक वृत्तको ध्यान केन्द्रित भएको छ।

प्रतिक्रिया