काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपालमा सुशासन प्रवाह गर्ने पवित्र उद्देश्य र आकांक्षा राखेर बसेका व्यक्तिहरूलाई भ्रममा पारेर धमिलो पानीमा माछा मार्ने प्रयास सफल नहुने बताए। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले निर्वाचन बिथोल्ने वा अस्थिरता सिर्जना गर्ने कुनै पनि गतिविधि सरकारले निषेध गर्ने र निर्वाचन आयोगले समेत त्यसलाई नजिकबाट अनुगमन गरिरहेको स्पष्ट पारे। निर्वाचनको वातावरण निर्माणमा देखिएका कमजोरीहरू सुधार गर्न आयोगले सरकारलाई आवश्यक सुझाव दिइरहेको जानकारी दिँदै उनले निर्वाचनको विकल्प नभएको जिकिर गरे।
कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने, ‘केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्ने प्रायोजनका लागि नचाहिने हल्लाहरू गर्न सक्छन्, उनीहरूको निश्चित उद्देश्य पूरा गर्ने प्रायोजनका लागि अब नेपाली जनता साक्षी बस्न सक्दैनन्। अब निर्वाचनको वातावरण बिथोलिने वातारण बन्दैन। जसरी पनि निर्वाचन सम्पन्न हुन्छ। कि निर्वाचनको विकल्प देखाएर नेपालमा सुशासनको प्रवाह यसरी हुन्छ, भनेर वैकल्पिक मार्ग देखाउनुस्। अनि त्यो बेलामा हामी के रहेछ भनेर सोच्न सकुँला तर निर्वाचन चाहिँ बिथोल्न सक्दैनौं।’
उनले निर्वाचन आचारसंहिता पालना गर्न सम्बन्धित सबैसँग आग्रह गर्दै केही सञ्चार माध्यमहरूले गरिरहेको मत सर्वेक्षणप्रति असन्तुष्टि व्यक्त गरे। आफूले पटकपटक आग्रह गर्दा पनि केही सञ्चार माध्यमहरूले मत सर्वेक्षण गर्न नछोडेकोमा गुनासो गर्दै उनले आचारसंहिता विपरीतको कार्य जारी रहे कारबाही गर्न बाध्य हुने चेतावनी समेत दिए। नयाँ र पुराना सबै शक्तिहरूले निर्वाचनलाई नै मार्गका रूपमा स्वीकार गरिसकेकाले अब कुनै पनि भ्रममा नपरी निर्वाचनको तयारीमा लाग्न उनले सबैलाई आह्वान गरे।