झापा–५ का सुकुमबासी समस्या १००० दिनमा समाधान गर्ने बालेनको प्रतिबद्धता

nepaltext.com

काठमाडौं। बालेन्द्र साह ले झापा–५ का सुकुमबासी, भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

आइतबार सार्वजनिक गरिएको आफ्नो वाचापत्रमार्फत उनले झापा–५ को भूमि सम्बन्धी समस्या न्यायोचित र दिगो रूपमा समाधान गर्ने योजना अघि सारेका हुन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा सरकार गठन भएमा १०० दिनभित्र अधिकारसम्पन्न आयोग गठन गरिने र १००० दिनभित्र समस्याको ठोस समाधान निकालिने उल्लेख गरेका छन्।

बालेनले भूमि व्यवस्थापन शीर्षकअन्तर्गत तीन बुँदे योजना सार्वजनिक गरेका छन्। पहिलो बुँदामा झापा–५ का भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानलाई प्राथमिकतामा राखिएको छ।

त्यस्तै, बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्दै जग्गा चक्लाबन्दी तथा एकीकरण प्रवर्द्धनका लागि ‘ल्यान्ड बैंक’ को व्यवस्था गरिने उनले बताएका छन्। ऐलानी जग्गासम्बन्धी उचित कानुनी तथा प्रशासनिक व्यवस्था मिलाइने र नक्सांकन अभिलेख नभएका जमिनहरूको नापी–नक्सा तथा अभिलेखीकरण कार्य सम्पन्न गरिने पनि उनको वाचा छ।

बालेनको यो घोषणा आगामी निर्वाचनलाई लक्षित गरी सार्वजनिक गरिएको वाचापत्रअन्तर्गतको भूमि व्यवस्थापन योजना हो।


प्रतिक्रिया