निर्वाचनमा धाँधली भए एमालेलाई मान्य हुँदैन, राज्य संयन्त्रको दुरुपयोग तत्काल रोकियोस् : केपी ओली

nepaltext.com

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षताका बारेमा गम्भीर प्रश्न उठाउनुभएको छ। झापाको दमकमा आयोजित ‘बासँग विद्यार्थी’ संवाद कार्यक्रममा बोल्दै उहाँले धाँधलीरहित चुनाव सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो।

कुनै पनि बहानामा हुने धाँधली एमालेका लागि स्वीकार्य नहुने स्पष्ट पार्दै अध्यक्ष ओलीले राज्य संयन्त्रको दुरुपयोग गरेर निर्वाचनको नतिजा प्रभावित पार्न खोजिए लोकतान्त्रिक शक्तिहरूले त्यसलाई मान्यता नदिने चेतावनी दिनुभयो। वर्तमान अवस्थाप्रति टिप्पणी गर्दै ओलीले भन्नुभयो, ‘त्यस्ता गतिविधि तत्काल रोकिनु पर्छ । रोकिनेमा शंका छ ।’

मुलुकको सार्वभौम संसदलाई ध्वंसात्मक तरिकाले बलजफ्ती विघटन गरिएका कारण देश अहिले संकटतर्फ धकेलिएको उहाँको तर्क छ। आगामी निर्वाचनबाट एमाले नै पहिलो शक्तिको रूपमा उदय हुने दाबी गर्दै अध्यक्ष ओलीले मुलुकमा विद्यमान सबै समस्याको समाधान आफ्नो पार्टीले निकाल्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया