अजयबाबु शिवाकोटी उम्मेदवार बनेसँगै तात्यो दोलखाको राजनीति

nepaltext.com

दोलखा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दोलखाको राजनीतिक सरगर्मी एकाएक बढेको छ। विशेषगरी नेपाली कांग्रेसले केन्द्रीय सदस्य तथा प्रभावशाली युवा नेता अजयबाबु शिवाकोटीलाई उम्मेदवार बनाएसँगै जिल्लाको राजनीति थप तातेको हो। राष्ट्रिय स्तरमै पहिचान बनाइसकेका शिवाकोटीको उम्मेदवारीले पार्टीभित्र मात्र नभई समग्र निर्वाचन क्षेत्रमा विशेष चर्चा पाएको छ। उनलाई युवा नेतृत्व, नयाँ सोच र फरक दृष्टिकोण बोकेका नेताका रूपमा चिनिन्छ, जसका कारण मतदाताको आकर्षण उनीतर्फ बढ्दै गएको देखिन्छ।

शिवाकोटीले पत्रकारिताबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। पत्रकारको रूपमा काम गर्दा उनले समाजका विविध पक्ष, आमनागरिकका समस्या र सरकारी कार्यशैलीमाथि निरन्तर निगरानी गर्दै आलोचनात्मक र निर्भीक भूमिका निर्वाह गरेका थिए। तत्कालीन सभामुख कृष्णबहादुर महरा र सञ्चार मन्त्री गोकुल बास्कोटासँग जोडिएका काण्डहरू बाहिर ल्याउन उनले खेलेको भूमिकालाई मतदाताले आज पनि स्मरण गरिरहेका छन्। यही अनुभव, साहस र कामको मूल्याङ्कन स्थानीय जनता तथा मतदाताले सकारात्मक रूपमा गरेको बताइन्छ।

निर्वाचन प्रचारका क्रममा मतदाताले शिवाकोटीसमक्ष राष्ट्रिय राजनीति, जिल्लाको विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारका विषयमा गम्भीर चासो र सुझावहरू राखिरहेका छन्। जनताको सेवा र विश्वास नै आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गर्दै शिवाकोटीले जनताले देखाएको भरोसालाई संसदसम्म पुर्‍याउन सबै शक्ति लगाउने प्रतिबद्धता जनाएका छन्।

दोलखामा यसपटक कांग्रेस, एमाले, माओवादी र अन्य साना दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। यद्यपि शिवाकोटीको युवा नेतृत्व, पारदर्शी छवि र पत्रकारिता पृष्ठभूमिले उनलाई अन्य उम्मेदवारभन्दा फरक बनाएको स्थानीयहरूको भनाइ छ। राजनीतिक विश्लेषकहरूका अनुसार शिवाकोटीको उम्मेदवारीले कांग्रेसमा मात्र होइन, दोलखाका मतदातामाझ पनि उत्साह र नयाँ ऊर्जा थपेको छ, जसले अन्ततः मत परिणाममा प्रभाव पार्न सक्ने सम्भावना छ।

निर्वाचन नजिकिँदै गर्दा शिवाकोटीको चुनावी अभियान घरदैलो, स्थानीय सभा तथा सामाजिक सञ्जालमार्फत तीव्र रूपमा अघि बढिरहेको छ। २०७० सालसम्म दुई निर्वाचन क्षेत्र रहेको दोलखा संविधान जारी भएपछि एउटै संघीय निर्वाचन क्षेत्रमा सीमित भएको हो, जहाँ यसपटक एक लाख ७० हजार ३० मतदाता रहेका छन्।

अजयबाबुको चुनावी माहोल विस्तार हुँदै जाँदा कांग्रेस प्रवेश गर्ने युवाहरूको संख्या पनि बढ्दै गएको छ। नेकपा एमालेमा आबद्ध तामाकोशी गाउँपालिका दोलखाका युवा विराज श्रेष्ठ, राजीव श्रेष्ठ, डोरबहादुर भण्डारी र उद्धव भुजेललाई शिवाकोटीले कांग्रेसमा स्वागत गरेका छन्। उनले पहिलेदेखि भन्दै आएका छन्, ‘हामी सक्छौँ । परिवर्तन सम्भव छ ।’ जेन–जीका मुद्दामा जेन–जी आन्दोलन अघि नै आवाज उठाउँदै आएका शिवाकोटीलाई अहिले धेरै युवाले ‘जेन–जीका कांग्रेस नेता’ का रूपमा चिन्न थालेका छन्।

प्रतिक्रिया