चुनावी सुरक्षामा चुक नहोस्: नेपाली सेनालाई प्रधानमन्त्री कार्कीको निर्देशन

nepaltext.com

प्रधानमन्त्री एवं रक्षा मन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सुरक्षामा कत्ति पनि चुक हुन नदिन नेपाली सेनालाई कडा निर्देशन दिएकी छन्। मंगलबार जंगी अड्डामा आयोजित पृतनापति समन्वयात्मक बैठकको उद्घाटनपछि सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतका निर्वाचनमा सुरक्षा संयन्त्रहरूबीच देखिएका समन्वयगत त्रुटि दोहोरिन नदिन विशेष सतर्कता अपनाउन आग्रह गरिन्। उनले भनिन्, ‘विगतमा सुरक्षा संयन्त्रहरूबीच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन र चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिनेतर्फ सतर्क हुनुहोस्,’ साथै ‘यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामहरूबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँग समन्वय गरी त्रुटिरहित ढंगले काम गर्नुहोस्।’ प्रधानमन्त्री कार्कीले निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले पाएको जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताइन्। साथै, राजनीतिक गतिविधिहरू पनि बिना अवरोध सञ्चालन गर्न अनुकूल वातावरण सिर्जना गर्न अन्य सुरक्षा निकायहरूसँग सहकार्य गर्न निर्देशन दिँदै उनले भनिन्, ‘जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरूलाई बिना अवरोध सञ्चालन गर्ने वातावरण सृजना गर्न अन्य निकायहरूसँगको सहकार्यमा स्पष्ट कार्ययोजनासहित अघि बढ्न म तपाईहरूलाई निर्देशन दिन्छु।’

प्रतिक्रिया