काठमाडौं l राष्ट्रियसभाको निर्वाचनमा चुनावी गठबन्धन आवश्यक देखिएपछि नेपाली कांग्रेस र नेकपा एमाले दुवै दलले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग पनि संवाद अघि बढाएका छन्। एक्लै निर्वाचनमा जाँदा अपेक्षित परिणाम नआउने निष्कर्षमा पुगेपछि कांग्रेस र एमालेले विभिन्न दलसँग सहकार्यको विकल्प खोज्दै नेकपासँग छलफल सुरु गरेका हुन्। उता, नेकपाले पनि राष्ट्रियसभाको निर्वाचनमा कुनै न कुनै दलसँग मिलेर जानु पर्ने बाध्यता रहेको ठहर गरेको छ। नेपाली कम्युनिस्ट पार्टीका नेता जगन्नाथ खतिवडाका अनुसार दुवै प्रमुख दलसँग अनौपचारिक रूपमा संवाद भइरहेको छ। उनले भने, ‘अनौपचारिक रूपमा विभिन्न माध्यमबाट छलफल भइरहेको छ। त्यो स्वाभाविक पनि हो। तर अहिलेसम्म कुनै कमिटी वा वार्ता टोली बनाएर भएको होइन। निर्वाचन नजिकिँदैछ, एक दुई दिनमा निष्कर्षमा पुगिएला।’
खतिवडाले विगतको सहकार्यलाई आधार मान्दा एमालेभन्दा कांग्रेससँग गठबन्धन हुने सम्भावना बढी देखिएको बताए। उनले थपे, ‘एमालेले पनि विभिन्न माध्यमबाट संवाद गरिरहेको छ। राजनीतिमा सहकार्य नै हुँदैन भन्ने होइन। जोसुकैसँग हुनसक्छ तर एमालेसँग भन्दा कांग्रेससँग कुरा मिल्ने सम्भावना धेरै छ।’ यसैबीच, माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनलाई केन्द्रमा राखेर कांग्रेस र एमालेबीच नै गठबन्धन हुन सक्ने विषयमा पनि तीव्र छलफल भइरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रियसभामात्र होइन, आगामी निर्वाचनसम्म पनि जेनजी आन्दोलनअघिको गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा देखिएका छन्।
तर कांग्रेसभित्रकै एकथरी नेताहरू भने राष्ट्रियसभा निर्वाचनमा एमालेभन्दा नेकपासँग सहकार्य गर्दा पार्टीलाई बढी फाइदा हुने तर्क गर्दै त्यतातर्फ जोड दिइरहेका छन्। कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले एमालेबाहेक अन्य दलसँग पनि छलफल भइरहेको र अहिलेसम्म कुनै निष्कर्षमा नपुगेको बताएका छन्। उता, एमालेका एक नेताले पनि कांग्रेससँग मात्रै नभई नेकपासँग समेत संवाद भइरहेको पुष्टि गरेका छन्। फागुन २० देखि रिक्त हुन लागेका १९ मध्ये १८ स्थानका लागि राष्ट्रियसभाको निर्वाचन हुँदैछ।