काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको प्रयत्नमा नेत्रविक्रम चन्द ‘विप्लव’लाई अत्यधिक महत्त्व दिँदा पनि उनी एकताको धारमा नआएको बताएका छन् । नेकपा माओवादीका नेताहरूलाई पार्टीमा समेट्ने क्रममा जेन–जी आन्दोलनपछि एकताको प्रक्रियाबाट विप्लव अलगिएको उल्लेख गर्दै प्रचण्डले समाजवादी मोर्चालाई एउटै शक्तिशाली कम्युनिस्ट पार्टीमा रूपान्तरण गर्ने चाहना आफूहरूको रहेको बताए । विप्लवसँग पटक–पटक वार्ता, संवाद र भेटघाट भएको स्मरण गराउँदै उनले खुमलटारमा प्रकाण्ड आउँदा र स्वयं विप्लवको निवासमा पुग्दा पनि एकता सम्भव हुने बुझाइ बनेको तर जेन–जी आन्दोलनको आसपास आइपुग्दा उनी वैचारिक अन्योलको घेराभित्र हराउँदै गएको बताए । प्रचण्डका अनुसार त्यो समयमै इतिहासमै विरलै आउने एकताको अवसर गुमाउनु ठूलो चूक थियो र त्यसको पश्चात्ताप भविष्यमा धेरै टाढासम्म अनुभूत हुनेछ । नेकपा कुनै आवेग वा हतारमा नभई दीर्घकालीन कम्युनिस्ट आन्दोलनको आवश्यकताबाट जन्मिएको भन्दै उनले सबै घटकलाई एउटै मोर्चामा एकताबद्ध गरेर सङ्कटको घडीमा शक्ति निर्माण गर्ने अवसर विप्लवले चुकाएको टिप्पणी गरे । तर अझै सबै कुरा बिग्रिन नसकेको उल्लेख गर्दै उनले आत्मसमिक्षा गरेर मूल धारमा फर्किन आग्रह गरे र ‘तपाईंको मूल घर यही हो, यता–उता भौँतारिएर केही हुनेवाला छैन, ढोका अझै खुला छ, हामी स्वागत गर्न तयार छौँ’ भन्दै एकताको लागि पुनः आह्वान गरे ।