रुपन्देही । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी बन्जाडे धरौटीमा रिहा भएका छन् । रास्वपा सभापति रवि लामिछानेसँग सम्बन्धित सोही मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत बिहीबार लामिछानेलाई बिगो बापतको धरौटी लिएर रिहा गर्न आदेश दिँदा जोशीको हकमा भने निवेदन परेपछि मात्र पुनःविचार गर्न सकिने उल्लेख गरेको थियो । आदेशमा लामिछानेले पहिले नै बिगो तिर्ने तयारी देखाएको तर जोशीको हकमा स्पष्ट नभएकाले सक्कल जमानतसहित निवेदन दिएमा पुनःविचार गर्न सकिने भनिएकाले उनका तर्फबाट शुक्रबार नै निवेदन दर्ता गरिएको थियो । सो निवेदनमाथि आइतबार सुनुवाइ गर्दै रुपन्देही जिल्ला अदालतले तीन करोड रुपैयाँ बैंक जमानत बुझाएपछि जोशीलाई रिहा गर्ने आदेश दिएको हो । जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार उच्च अदालतको आदेशअनुसार जोशीले शुक्रबार निवेदन दिएका थिए र आइतबारको इजलासले जमानत बुझाएर रिहा गर्न आदेश दिएसँगै बैंक ग्यारेन्टी पेश गरी उनी थुनामुक्त भएका हुन् ।
यसअघि छविलाललाई थुनामा राख्ने आदेश दिँदा रवि लामिछानेलाई भने एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएको थियो । पछि उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने र जोशीलाई पनि थुनामै राख्ने जिल्ला अदालतको आदेश सदर गरेको थियो, जसलाई सर्वोच्च अदालतले समेत कायम राखेको थियो । त्यसपछि दुवै जनाले बिगो बापत धरौटी राखी रिहा हुन माग गर्दै निवेदन दिएका थिए । जिल्ला अदालतले सुरुमा यसरी रिहा गर्न नमिल्ने आदेश गरे पनि उक्त आदेश बदर गर्दै उच्च अदालतले दुवैलाई थुनामुक्त भएर मुद्दा लड्ने बाटो खोलेको हो । लामिछानेले कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएका थिए, जसमा एक करोड रुपैयाँ पहिले नै बुझाइसकेका थिए ।
गत वर्ष माघ २८ गते रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । थुनछेक बहसपछि न्यायाधीश वसिष्ठकुमार घिमिरेको इजलासले थुनामा राख्ने आदेश दिएयता उनी उच्च र सर्वोच्च अदालतसम्म पुनरावेदनमा गए पनि जिल्लाकै आदेश सदर भएपछि हालसम्म थुनामै रहेका थिए ।