अर्थमन्त्री वाग्ले भारत जाँदै : सहयोग घोषणा हुन सक्ने अपेक्षा

nepaltext

काठमाडौँ । भोटेकोशीमा आएको बाढीबाट भएको क्षति र त्यसपछिको पुनर्निर्माणका लागि सहयोग जुटाउन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार तीन दिने औपचारिक भ्रमणका लागि भारत जाने भएका छन्।

भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले नेपालमा बाढी तथा पहिरोबाट उत्पन्न विपद्, त्यसबाट भएको क्षति र पुनर्निर्माणका लागि आवश्यक सहयोगका विषयमा भारतीय पक्षसँग छलफल गर्नेछन्।

अर्थ मन्त्रालयका अनुसार उनले भारतीय विदेशमन्त्री एस. जयशंकर, अर्थमन्त्री निर्मला सीतारमण र वाणिज्यमन्त्री पियुष गोयलसँग भेटवार्ता गर्ने कार्यक्रम छ। शुक्रबारदेखि सुरु हुने उच्चस्तरीय भेटवार्तामा नेपालको पछिल्लो विपद्को अवस्था र भारतबाट अपेक्षित सहयोगबारे छलफल हुनेछ।

नेपालले विपद्पछिको पुनर्निर्माण तथा राहतका लागि भारतबाट थप सहयोगको अपेक्षा गरेको छ। भेटवार्ताका क्रममा नेपालले आफ्नो आवश्यकता र प्राथमिकता भारतीय पक्षसमक्ष प्रस्तुत गर्ने र त्यसपछि भारतले सहयोग घोषणा गर्न सक्ने अपेक्षा गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार नेपालले आफ्नो तर्फबाट सहयोगको आवश्यकता स्पष्ट रूपमा राख्नेछ। “हाम्रो तर्फबाट कुरा राखिन्छ, भारतले त्यसमा के गर्छ त्यो उसको कुरा हो। सहयोग हुनेमा हामी आशावादी छौँ,” ती अधिकारीले भने।

तीन भारतीय मन्त्रीसँगको भेटवार्ता सकारात्मक रूपमा अघि बढे अर्थमन्त्री वाग्लेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेट हुने सम्भावना रहेको स्रोतले जनाएको छ। यद्यपि मोदीसँगको भेटवार्ता भने अहिलेसम्म निश्चित भइसकेको छैन।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा सडक तथा ऊर्जा क्षेत्रका लागि ५० करोड अमेरिकी डलर अनुदान र थप ५० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउन नेपालले भारतसमक्ष प्रस्ताव गरेको थियो। अर्थमन्त्री वाग्लेले सो प्रस्तावमा समेत छलफल गर्ने बताइएको छ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणका क्रममा नेपाललाई थप सहयोग आवश्यक रहेको विषय भारतीय प्रधानमन्त्री मोदीसमक्ष राखेका थिए। त्यसपछि परराष्ट्रमन्त्री खनालको भ्रमणका क्रममा भारतसँग थप सहयोगका लागि प्रस्ताव गरिएको थियो।

२०७२ सालको भूकम्पपछि भारतले नेपाललाई अनुदान तथा सहुलियतपूर्ण ऋणमार्फत एक अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो। उक्त सहयोगअन्तर्गत केही रकम अझै उपयोग हुन बाँकी रहेको र त्यस विषयमा पनि अर्थमन्त्री वाग्लेले भारतीय पक्षसँग छलफल गर्ने बताइएको छ।

वाग्लेले शुक्रबार र शनिबार भारतमा उच्चस्तरीय भेटवार्ताका अतिरिक्त विभिन्न कार्यक्रममा सहभागिता जनाउनेछन्। उनले भारतीय उद्योगी तथा व्यवसायी र कूटनीतिज्ञहरूसँग समेत छलफल गर्ने कार्यक्रम रहेको छ।

यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीसमेत भइरहेको छ। भारतले प्रधानमन्त्री शाहलाई यसअघि नै भ्रमणको निमन्त्रणा दिइसकेको छ। भ्रमणको मिति भने अझै तय भएको छैन। अर्थमन्त्री वाग्लेको भारत भ्रमणले प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणका लागि आवश्यक वातावरण निर्माणमा समेत सहयोग पुग्ने स्रोतहरूको भनाइ छ।

भोटेकोशी बाढीपछि नेपाललाई भारतबाट प्रारम्भिक चरणमै मानवीय सहायता, राहत सामग्री तथा उद्धारका लागि प्राविधिक टोली उपलब्ध भएको थियो। भारतले थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।

प्रतिक्रिया