धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो पार्टी सरकारमा पुगे अन्य ठूला दलहरूलाई सही बाटोमा ल्याउने दाबी गरेका छन्। बुधबार सुदूरपश्चिमको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले रास्वपा सरकारमा गए कांग्रेस, एमाले र माओवादी सबै हिँड्ने बाटो (ट्रयाक) बनाउने बताएका हुन्।
देश बनाउने स्पष्ट सोच र भिजन रास्वपासँग मात्रै रहेको उल्लेख गर्दै उनले नेपालको प्राकृतिक सम्पदाको महत्त्व बुझ्न नसकिएकोमा चिन्ता व्यक्त गरे। उनले भने, ‘मान्छेहरू देशलाई स्वीजरल्याण्ड बनाउनुपर्छ भन्छन्, किन बनाउनुपर्यो स्वीजरल्याण्ड ? स्वीजरल्याण्डको पराकाष्ठा रामारोसन यही छ, किन बनाउनुपर्यो स्वीजरल्याण्ड ? खप्तड राष्ट्रिय निकुञ्ज यही छ, किन बनाउनुपर्यो स्वीजरल्याण्ड ? नेपाली माल भएको, चाल नभाको पर्यौँ। भएको चिज देखाउनै सकेका छैनौँ।’
नेता शाहले काठमाडौं र सुदूरपश्चिमको सांस्कृतिक सम्बन्धलाई जोड्नुपर्नेमा समेत जोड दिए। सुदूरपश्चिमको गीत काठमाडौंका चोकचोकमा गुञ्जिएपछि मात्रै भावनात्मक रूपमा काठमाडौंसँग सुदूरपश्चिम जोडिने उनको धारणा थियो।
आफ्नो पार्टी सत्ताको भोको नभई देश विकासको भोको रहेको तर्क गर्दै उनले भने, ‘हामी भोट माग्न मात्रै होइन, काम माग्न आएका हौँ। हाम्रा नेता र उम्मेदवारलाई देश विकासको काम गर्ने अवसर दिनुहोस्।’ निर्वाचन नजिकिँदै गर्दा सुदूरपश्चिममा रास्वपाले आफ्नो चुनावी अभियानलाई तीव्र पारेको छ।