बालेन–रास्वपा सहमतिसँगै शेयरबजारमा उछाल, ५ अर्ब ५३ करोड रुपैयाँको सेयर कारोबार-नेप्से १.८३% ले उकालो

nepaltext.com

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बिच भएको सहमतिका कारण सेयर बजारमा उत्साहको लहर चलेको छ। साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ४७.५५ अङ्कले वृद्धि भएर २,६३३.४२ विन्दुमा पुगेर बन्द भयो, जुन १.८३ प्रतिशतको उछाल हो। आइतबार बजारमा ३२८ कम्पनीका १ करोड ३४ लाख कित्ता सेयर ८९ हजार २५१ पटक किनबेच हुँदा कुल ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको देखियो। कुल सूचीकृत कम्पनीमध्ये २३८ कम्पनीको मूल्य उकालो लाग्दा, २१ कम्पनीको मूल्य घटेको छ, बाँकी कम्पनीको मूल्य स्थिर रहेन। सबै समूहका परिसूचक वृद्धि भएका छन्; डेभलपमेन्ट बैंक र फाइनान्स कम्पनी समूहमा २ प्रतिशतभन्दा माथि वृद्धि हुँदा म्युचुअल फण्ड र ट्रेडिङ बाहेक अन्य समूहमा एक प्रतिशतभन्दा बढीको वृद्धि भएको छ।

आजको टप गेनर सूचीमा जलविद्युत कम्पनीहरूको वर्चस्व देखियो। मिड सोलु हाइड्रोपावरमा ९.४९ प्रतिशत, जोशी हाइड्रोपावरमा ६.९७ प्रतिशत, अपर स्याङ्गे हाइड्रोपावरमा ६.५२ प्रतिशत र रुरु जलविद्युतमा ५.१६ प्रतिशत वृद्धि भएको छ। यद्यपि, बजारको उच्च वृद्धिका बाबजुद विन नेपाल लघुवित्तको मूल्यमा १० प्रतिशत गिरावटसहित नकारात्मक सर्किट लागेको छ। कारोबार रकमको आधारमा अपर नेपाल हाइड्रोपावर अग्रस्थानमा रह्यो, जसको २७ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो। त्यसैगरी, मञ्जुश्री फाइनान्सको २४ करोड ८९ लाख र सिनर्जी पावरको २२ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रतिक्रिया