देशको अस्तित्व नै संकटमा छ, राष्ट्रिय सहमतिपछि मात्र चुनावमा जाऔँ: पूर्वराजा ज्ञानेन्द्र शाह

nepaltext.com

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको अस्तित्व नै संकटमा परेको उल्लेख गर्दै राष्ट्रिय सहमतिबाट वर्तमान समस्याको समाधान गरेर मात्र निर्वाचनमा जानु उपयुक्त हुने सुझाव दिएका छन्।

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा एक भिडिओ सन्देश जारी गर्दै पूर्वराजा शाहले राष्ट्रिय संकटको ठोस समाधान नगरी हतारमा गरिने निर्वाचनले देशमा थप द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिएका हुन्। सिंगै मुलुक यतिबेला अस्वाभाविक छटपटीको भुमरीमा फसेको उनको जिकिर छ।

देशको अस्मिता र अस्तित्व संकटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेको उल्लेख गर्दै उनले भने, ‘विगतमा अनेकौँ नाममा आन्दोलन भए। संघर्षको आडमा परिवर्तन पनि गरिए, तर सबै प्रकारका परिवर्तनहरूले नेपाल र नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्नुपर्ने समय अहिले आएको छ।’

हाम्रो मुख्य शत्रु विपन्नता र अस्थिरता भएको भन्दै शाहले पछिल्लो समय एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने अवाञ्छित संस्कृतिले प्रश्रय पाइरहेकोमा चिन्ता व्यक्त गरे। उनले राजनीतिक दलहरूलाई भागबण्डाको राजनीति त्याग्न आग्रह समेत गरेका छन्।

उनले सन्देशमा भनेका छन्, ‘अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाइरहेको यस्तो दुःखद परिस्थितिमा आलोपालो भाग लगाएर खाउँ भन्ने सोचले होइन, मिलेर काम गरौँ भन्ने कर्तव्यबोधले मात्र मुलुकलाई नयाँ गति दिन सकिन्छ।’

शाहले अहिलेको परिस्थितिमा सबै पक्ष गम्भीर भई राष्ट्रिय हितका लागि एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया