निर्वाचन आचारसंहिता उल्लङ्घनको आशंकामा काठमाडौं महानगरलाई आयोगले माग्यो स्पष्टीकरण

nepaltext.com

२० माघ, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयनमा आइसकेपछि काठमाडौं महानगरपालिकाले ७० वर्ष तथा सोभन्दा माथिका नागरिकलाई घरघरमै पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको विषयमा स्पष्टीकरण सोधेको छ। यससम्बन्धी कार्यबाहक नगर प्रमुखले दिएको अभिव्यक्तिको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएपछि आयोगले महानगरपालिकालाई औपचारिक पत्र लेखी जवाफ मागेको जनाएको छ। आयोगका अनुसार निर्वाचन आचारसंहिता २०८२ को दफा ५ को खण्ड (क) को उपखण्ड (ग) मा ‘वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भए बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रम घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने तर सरुवा रोगको महामारी वा कुनै काबु बाहिरको परिस्थिति सिर्जना भएमा आयोगको स्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था रहेको छ। सोही प्रावधानको सन्दर्भमा कार्यबाहक नगर प्रमुखले सुरु गरेको भनिएको स्वास्थ्य सेवा कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएको हो वा होइन भन्ने विषयमा आयोगले स्पष्ट जवाफसहित आवश्यक कागजात पेश गर्न निर्देशन दिएको हो। आयोगले सोमबार महानगरपालिकालाई लेखेको पत्रमा यदि उक्त कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएको भए, त्यससम्बन्धी कागजातको प्रमाणित प्रति पत्र प्राप्त भएको दुई दिनभित्र आयोगमा पेश गर्न निर्णयानुसार अनुरोध गरिएको उल्लेख छ।

प्रतिक्रिया