दमक (झापा) । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समय आएपछि मात्रै संविधान संशोधन गरिने बताएका छन्। आफ्नो गृह निर्वाचन क्षेत्र झापा-५ को दमकमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नै संविधान संशोधनको कुरा निकालेर कोही सुन्नेवाला नरहेको प्रष्ट पारे।
अध्यक्ष ओलीले नेपाली कांग्रेससँगको सहकार्यमा सरकार गठन हुँदा भएको ७ बुँदे सहमतिमा संविधान संशोधनको विषय उल्लेख गरिएको स्मरण गराए। त्यतिबेला परिस्थिति खराब ढंगले विकास भएका कारण यो विषय थाती रहेको उल्लेख गर्दै उनले भने, “उपयुक्त समय आएपछि संशोधन हुन्छ। जनतालाई आवश्यक भएका, देशलाई अघि बढाउने र जरुरी विषयहरूलाई समावेश गरी संविधान संशोधन गरिन्छ।”
'समाज भाँड्ने तत्व सक्रिय' आगामी निर्वाचनमा पराजय भोग्ने निश्चित देखेपछि केही तत्वहरू समाज भाँड्न लागिपरेको टिप्पणी ओलीले गरे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै उनले रौतहटमा हालै भएका घटनाहरू यसैको उपज भएको दाबी गरे।
उनले भने, “चुनाव भाँड्ने, समुदायमा विद्वेष फैलाउने र अराजकता निम्त्याउनेहरू सक्रिय हुँदै गएका छन्। यस्ता कुराहरू नेपाली समाजका लागि पाच्य हुँदैनन्।”
जनताबाट अस्वीकृत हुनेहरूको चलखेल एमाले सधैँ जनताको बीचमा रहेको र जनताकै बीचमा हुर्किएको पार्टी भएकाले आफूहरूलाई जनस्तरमा जान कुनै समस्या नरहेको उनले बताए। तर, निर्वाचनमा जनताबाट अस्वीकृत हुने डरले केही तत्वहरू साम्प्रदायिकता फैलाउने र चुनावको वातावरण धमिल्याउनेतर्फ लागेको ओलीको भनाइ थियो।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेदवार रहेका ओली हाल आफ्नो निर्वाचन क्षेत्रमा चुनावी घरदैलो र कार्यकर्ता भेटघाटमा व्यस्त छन्।