काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा घटेको छ। शुक्रबारको तुलनामा सुनचाँदीको मूल्य ओरालो लागेपछि उपभोक्ता र व्यवसायी दुवैको चासो बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य १८ हजार ८ सयले घटेर ३ लाख रुपैयाँमा झरेको छ भने चाँदीको मूल्य पनि १ हजार ५ सय ६५ ले घट्दै प्रतितोला ५ हजार ५०० रुपैयाँमा कायम भएको छ। गत शुक्रबार एक तोला छापावाल सुन ३ लाख १८ हजार ८०० रुपैयाँ र चाँदी ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि बिहीबार सुनको मूल्य अझै उच्च रहँदै ३ लाख ३९ हजार ३०० रुपैयाँ र चाँदी ७ हजार ५०५ रुपैयाँमा किनबेच भएको देखिन्छ। यस्तै, गत बुधबार सुन ३ लाख १८ हजार ८०० र चाँदी ७ हजार ३०० रुपैयाँमा कायम हुँदा मंगलबार सुन ३ लाख ९ हजार ३०० र चाँदी ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ८६५ अमेरिकी डलरमा र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जसको प्रभाव स्थानीय बजारमा पनि प्रत्यक्ष रूपमा परेको व्यवसायीहरू बताउँछन्।