काठमाडौं । मध्यपूर्वमा बढ्दो तनाव र हवाई क्षेत्रमा लगाइएको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय उडानहरू रद्द हुँदा वैदेशिक रोजगारीमा जाने नेपाली यात्रुहरू बिचल्लीमा परेका छन्। दोहा, दुबई, कुवेत, अबुधाबी, कतार र दमाम जस्ता प्रमुख गन्तव्यका विमानस्थलमा उडान रोकिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरू पनि रद्द गरिएका हुन्।
हवाई उडान अनिश्चितकालका लागि बन्द भएपछि टिकट लिएर विमानस्थल पुगेका यात्रुहरू अलमलमा परेका छन्। विशेषगरी खाडी मुलुकमा श्रमका लागि जाने नेपालीहरू यसबाट प्रत्यक्ष मारमा परेका छन्। काठमाडौं आइपुगेका यात्रुहरूले उडान कहिले खुल्ने भन्ने टुङ्गो नहुँदा थप समस्या झेल्नुपरेको गुनासो गरेका छन्। कतिपय यात्रुले आफूहरूसँग काठमाडौंमा बस्ने र खाने पैसा समेत नभएकाले सरकारले सहयोग गर्नुपर्ने माग गरेका छन्।
त्रिभुवन विमानस्थल कार्यालयले उडान सुचारु हुने निश्चित भएपछि मात्र जानकारी गराइने जनाएको छ। साथै, विमानस्थल जानुअघि आफ्नो वायुसेवा कम्पनी (Airlines) सँग अनिवार्य सम्पर्क गरेर मात्र घरबाट निस्किन कार्यालयले यात्रुहरूलाई आग्रह गरेको छ।