काठमाडौं । एमालेका युवा नेता सुहाङ नेम्वाङ लोकप्रिय मतका साथ एमाले केन्द्रीय नेतृत्वमा प्रवेश गरेका छन्। खुला क्लस्टरबाट १७ सय २१ मत प्राप्त गर्दै नेम्वाङ केन्द्रीय सदस्यमा विजयी भएका हुन्। प्रारम्भमा केपी ओली पक्षले उनलाई प्यानलमा राख्न अस्वीकार गरेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए, तर पछि ओली प्यानलले उनलाई अन्तिम सूचीमा समेट्यो। त्यसैगरी, उनी ईश्वर पोखरेल प्यानलमा पनि सूचीबद्ध थिए।
सुहाङ दिवंगत नेता सुवासचन्द्र नेम्वाङका सुपुत्र हुन्। पिताको निधनपछि राजनीतिमा कदम राख्दै उनले छोटो समयमा पिताजस्तै शालीन र योग्य युवा नेताको छवि निर्माण गरेका छन्। इलाम २ मा भएको उपनिर्वाचनमा पनि उनी एमालेबाट विजयी भएका थिए। सामाजिक सञ्जालमा धेरैले उनलाई केन्द्रीय कमिटीमा देख्न चाहेको व्यक्त गर्दै शुभकामना सन्देश दिएका छन्।
३ पुस २०८२, बिहिबार ०४:०७ मा प्रकाशित