काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको 'प्रतिज्ञापत्र' माथि आज (बिहीबार) नागरिकसँग खुला प्रश्नोत्तर कार्यक्रम गर्दैछ। जनकपुरमा बुधबार सार्वजनिक गरिएको प्रतिज्ञापत्रका विषयमा थप स्पष्ट पार्न र नागरिकका जिज्ञासा मेटाउन पार्टी सभापति गगनकुमार थापाले 'खुला प्रश्नोत्तर' गर्न लाग्नुभएको हो।
काठमाडौँको राष्ट्रिय सभागृहमा दिउँसो १ बजेदेखि सुरु हुने ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ नामक कार्यक्रममा सभापति थापाले देश तथा विदेशबाट प्राप्त हुने प्रश्नहरूको प्रत्यक्ष उत्तर दिनुहुनेछ।
प्रश्नबाट भाग्ने होइन, सामना गर्ने हो: सभापति थापा कार्यक्रमको उद्देश्यबारे प्रस्ट पार्दै सभापति थापाले भन्नुभएको छ, "राजनीतिक दलहरू जवाफदेही हुनुपर्छ। प्रश्नबाट भाग्ने होइन, प्रश्नको सामना गर्न सक्नुपर्छ। तपाईंका प्रश्नको प्रत्यक्ष उत्तर दिन हामी राष्ट्रिय सभागृहमा हुनेछौँ।" उहाँले सम्पूर्ण नागरिकलाई प्रश्नसहित उपस्थित हुन वा प्रविधिमार्फत जोडिन आग्रह गर्नुभएको छ।
प्रविधिको प्रयोग र प्रत्यक्ष प्रसारण पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार प्रविधिको प्रयोग गरी विश्वभरबाट जो-कोहीले प्रत्यक्ष रूपमा प्रश्न सोध्न सक्ने व्यवस्था मिलाइएको छ। कार्यक्रम स्थल राष्ट्रिय सभागृहमा उपस्थित सहभागीहरूले पनि सिधै प्रश्न राख्न पाउनेछन्। यस कार्यक्रमलाई मुलुकका सयौँ सञ्चार माध्यमहरूले प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेका छन्।
नेपाली राजनीतिमा पहिलो अभ्यास कांग्रेसले आगामी पाँच वर्षका लागि आफ्नो कार्ययोजना 'भिजन टेन' (Vision 10) मार्फत सार्वजनिक गरेको छ। नेपालको राजनीतिक इतिहासमा चुनावी घोषणापत्रका विषयमा नागरिकले सिधै नेतालाई सार्वजनिक रूपमा प्रश्न गर्ने र नेताले प्रत्यक्ष जवाफ दिने यो अभ्यास पहिलोपटक हुन लागेको हो। कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनेको खण्डमा गर्ने कामहरूको खाका यस प्रतिज्ञापत्रमा समेटेको छ।