काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतसम्बन्धी घुस प्रकरणमा सरकारी साक्षीका रूपमा पेस गरिएका दुई जनाले बयान फेरेपछि उनीहरूलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार मोही जग्गा दर्ता प्रक्रियामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग २४ लाख ५० हजार रुपैयाँ घुस लिँदै पक्राउ परेका आचार्यसहितका प्रतिवादीविरुद्ध यसअघि नै मुद्दा दायर गरिएको थियो। सोही प्रकरणमा भक्तपुरको चाँगुनारायण नगरपालिका–४ का तेजबहादुर तामाङ र सानु कान्छा तामाङलाई सजायमा पूर्ण छुट दिने व्यवस्था सहित सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो। तर विशेष अदालतमा बकपत्रका क्रममा उनीहरूले आयोगसमक्ष दिएको बयानभन्दा विपरीत अभिव्यक्ति दिँदै घुस तथा रिसवतको घटनालाई नै इन्कार गरेको अख्तियारको ठहर छ। अदालतमा झुटो बकपत्र दिएर भ्रष्टाचार निवारण प्रक्रियामा बाधा पुर्याएको अभियोगमा अख्तियारले तामाङद्वयलाई प्रतिवादी कायम गर्दै साढे २४ लाख रुपैयाँ बिगोसहित जरिवाना तथा कैद सजायको माग गरेको जनाएको छ।