४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित हुँदै आगामी शनिबारका लागि सारिएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज (बिहीबार) बस्ने भनिएको बैठक अब शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ।
यसअघि ३० कात्तिकमा सूचना जारी गरेर १ मंसिरका लागि बोलाइएको बैठक स्थगित गर्दै आजका लागि तय गरिएको थियो। तर पुनः समय सारिणी परिवर्तन गरिँदै बैठक शनिबारका लागि सारिएको हो।
बैठकमा विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशनमै जाने भन्ने विषयमा निरन्तर बहस हुँदै आएको छ। विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलनसमेत भइसकेको जनाइँदै आएको छ, तर संस्थापन पक्ष भने प्रतिनिधि सभा निर्वाचनपछि मात्र नियमित महाधिवेशन गर्नुपर्ने अडानमा अडिग छ।
गत २८ असोजबाट सुरू भएको बैठकमा कात्तिक २७ गतेसम्म नेताहरूले आफ्ना धारणा राखिसकेका थिए। त्यसपछि कात्तिक २९ र मंसिर १ का बैठक स्थगित हुँदै मंसिर ४ मा सारिएको थियो, र अब फेरि शनिबारका लागि निर्णय भएको हो।
यस पटकको बैठकबाट १५औं महाधिवेशनसहित आगामी प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा महत्वपूर्ण निर्णय आउने अपेक्षा गरिएको छ।