जेनजी आन्दोलनपछि सबैभन्दा नयाँ विकल्प उज्यालो नेपाल पार्टी हो: कुलमान घिसिङ

nepaltext.com

काठमाडौंमा सोमबार आयोजित कार्यक्रममार्फत उज्यालो नेपाल पार्टी (उनेपा) बाट काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवारको घोषणा पत्र सार्वजनिक गर्दै पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछि विकल्पका रूपमा आएको सबैभन्दा नयाँ पार्टी उनेपा भएको दाबी गरेका छन्। उनले जनताले विश्वास गरेको र माया गरेको पार्टी उज्यालो नेपाल पार्टी नै भएको उल्लेख गर्दै उनेपालाई नेपालको नयाँ राजनीतिक विकल्पका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे। घिसिङले भने, ‘जनताले विश्वास गरेको, माया गरेको पार्टी भनेको उज्यालो नेपाल पार्टी हो र जेनजी आन्दोलनपछि सबैभन्दा नयाँ पार्टी भनेको पनि हाम्रो पार्टी हो । पहिलो नयाँ पार्टी विकल्पको रुपमा स्थापना भएको पार्टी पनि यही हो । यो पार्टीले जेनजीको मागलाई पनि लिन्छ र नेपालको नयाँ विकल्पको रुपमा स्थापित हुन्छ ।’ उनले उज्यालो नेपाल पार्टी देशभित्र सम्पूर्ण नेपाली जनताले बुझ्न चाहेको र आबद्ध हुन चाहेको पार्टी भएको दाबी गर्दै सबै नेपाली जनताले यो पार्टीलाई विश्वास गरेको बताए। साथै, कुनै स्वार्थबिना जेनजी आन्दोलनको माग, नेपाली जनताको भावना र देशको आवश्यकतालाई ध्यानमा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहमति भएको पनि उनको भनाइ छ।

प्रतिक्रिया