काठमाडौं - मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन्। प्रहरीको टोलीले उनलाई काठमाडौंको चाल्नाखेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो। प्रहरी स्रोतका अनुसार प्रसाईँविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता रहेकाले उनलाई पक्राउ गरिएको हो। दुई साताअघि मात्र हाजिरी जमानीमा रिहा भएका प्रसाईँलाई प्रहरीले आज पुनः नियन्त्रणमा लिएको हो। यसअघि नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयलाई लिएर उनले कांग्रेस नेता गगन थापामाथि आर्थिक चलखेल भएको भन्ने भ्रामक आरोप फैलाएपछि पक्राउ परेका थिए। सो विषयमा निर्वाचन आयोगले समेत साइबर ब्युरोमा पत्राचार गरी कारबाहीका लागि प्रक्रिया अघि बढाएको थियो।
२४ माघ २०८२, शुक्रबार ०२:३१ मा प्रकाशित