रूपन्देही प्रहरीले प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपाललाई बहुविवाह मुद्दामा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार, उनकी श्रीमतीले दिएको उजुरीको आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई मंगलबार उनी पक्राउ परेका हुन्।
हाल डिएसपी नेपाल जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत छन्। यसअघि उनी बुटवलको वडा प्रहरी कार्यालयमा निरीक्षकको रूपमा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार, पक्राउपछि जिल्ला अदालतले तीन दिनको म्याद थप गरेको छ र उनी हिरासतमा राखेर बहुविवाहबारे थप अनुसन्धान भइरहेको छ।
सुरज कार्कीका अनुसार, मधु नेपालले विवाह गरेको भनिएको दोस्रो श्रीमतीको खोजी प्रक्रिया पनि जारी रहेको छ। घटनाबारे थप अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने बताइएको छ।
२५ मङ्सिर २०८२, बुधबार ०२:०९ मा प्रकाशित