काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका छन्। नयाँ दिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको हो।
भेटका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले नेपालमा भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्।
त्यसैगरी, नेपाल र भारतबीच आर्थिक, ऊर्जा तथा कनेक्टिभिटीका क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिँदै समग्र द्विपक्षीय सहयोगलाई थप विस्तार गर्ने विषयमा जोड दिइएको जनाइएको छ।
तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले बिहीबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग पनि भेटवार्ता गरेका थिए।
शुक्रबार अर्थमन्त्री वाग्ले विभिन्न कार्यक्रमहरूमा सहभागी भएका छन्।
२ असोज २०८३, शुक्रबार ०७:५२ मा प्रकाशित