काठमाडौं, १३ फागुन । पर्वतारोहण क्षेत्रमा हुने गरेको नक्कली उद्धार (फेक रेस्क्यू) प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगी कार्यमा संलग्न रहेको भन्दै एक ट्राभल एजेन्सीका प्रतिनिधि र एक विमान सेवा सञ्चालकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा ठमेलस्थित 'रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल'का प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंह रहेका छन्। धादिङ घर भएका तिवारी मंगलबार र काठमाडौं–३१ का सिंह बुधबार पक्राउ परेका हुन्।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार यो प्रकरणमा हालसम्म ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, बीमा कम्पनीका कर्मचारी र हेलिकोप्टर कम्पनीका सञ्चालकसहित ९ जना पक्राउ परिसकेका छन्।
यसरी हुन्थ्यो ठगी: प्रहरी अनुसन्धानका अनुसार यो गिरोहले उच्च हिमाली क्षेत्रमा पदयात्रामा गएका विदेशी पर्यटकहरूको स्वास्थ्यमा समस्या आएको भन्दै नक्कली उद्धारको कागजात तयार पार्थ्यो। पर्यटकको उद्धार नै नगरी वा सामान्य अवस्थामा पनि हेलिकोप्टर प्रयोग गरेको देखाई विदेशी बीमा कम्पनीहरूसँग ठूलो रकम दाबी गरी गैरकानुनी रूपमा आर्थिक लाभ लिने गरेको पाइएको छ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको र यसमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको ब्युरोले जनाएको छ।