वार्षिक लक्ष्यको ४४.९३ प्रतिशत मात्रै राजस्व उठ्यो, सात महिनामा ६ खर्ब ६५ अर्ब राजस्व संकलन

nepaltext.com

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिना अर्थात साउनदेखि माघ मसान्तसम्म ६ खर्ब ६५ अर्ब २ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। अर्थ मन्त्रालय अन्तर्गतको राजस्व व्यवस्थापन सूचना प्रणालीको तथ्यांकअनुसार यो संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.४५ प्रतिशतले बढी हो।

विभागगत विवरणअनुसार भन्सार विभाग ले गत वर्षको तुलनामा ८.०४ प्रतिशतले बढी राजस्व संकलन गर्दै २ खर्ब ७८ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ उठाएको छ। त्यस्तै, आन्तरिक राजस्व विभाग मार्फत ३ खर्ब २० अर्ब ८८ करोड ६५ लाख रुपैयाँ संकलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.२१ प्रतिशतले बढी हो।

मुख्य कर शीर्षकहरूमध्ये अन्तःशुल्क संकलनमा उल्लेखनीय सुधार देखिएको छ। माघ २९ गतेसम्म १ खर्ब ५ अर्ब ४३ करोड ६० लाख रुपैयाँ अन्तःशुल्क उठाइएको छ, जुन गत वर्षको तुलनामा १०.८८ प्रतिशतले बढी हो। मूल्य अभिवृद्धि कर (भ्याट) संकलन पनि ७.५८ प्रतिशतले वृद्धि भई १ खर्ब ९६ अर्ब ४४ करोड १७ लाख रुपैयाँ पुगेको छ।

यद्यपि सबै क्षेत्रमा सुधार देखिए पनि आयकर र गैरकर राजस्व संकलनमा भने गिरावट आएको छ। आयकर संकलन ०.८१ प्रतिशतले घटेर १ खर्ब ५८ अर्ब ६६ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ। सबैभन्दा ठूलो गिरावट गैरकर राजस्वतर्फ देखिएको छ, जहाँ संकलन १४.८९ प्रतिशतले घटेर ६५ अर्ब ७१ करोड ३ लाख रुपैयाँमा झरेको छ।

सरकारले चालू आर्थिक वर्षका लागि कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। माघ २९ सम्मको उपलब्धि वार्षिक लक्ष्यको ४४.९३ प्रतिशत मात्र हो। माघ महिनाको मासिक लक्ष्यको तुलनामा भने ८५.५५ प्रतिशत मात्र राजस्व उठ्न सकेको देखिन्छ। राजस्व संकलनमा समग्र वृद्धि देखिए पनि लक्ष्य प्राप्तिका लागि आगामी महिनाहरूमा थप तीव्रता आवश्यक देखिएको छ।

प्रतिक्रिया