जनकपुरधाम । रौतहटको सदरमुकाम गौरलगायतका क्षेत्रमा लगाइएको कर्फ्यू आदेश जिल्ला प्रशासन कार्यालयले हटाएको छ। जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार आज (सोमबार) बिहान १०:०० बजेदेखि लागू हुने गरी कर्फ्यू पूर्ण रूपमा हटाइएको हो।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालद्वारा जारी सूचनामा सुरक्षा स्थिति सामान्य बन्दै गएकाले कर्फ्यू हटाउने निर्णय गरिएको उल्लेख छ। यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम गौर नगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू जारी गरिएको थियो।
किन लगाइएको थियो कर्फ्यू? गत फागुन ७ गते दुई समुदायबीच विवाद भएपछि रौतहटमा तनाव उत्पन्न भएको थियो। स्थिति नियन्त्रण बाहिर जान नदिन र सम्भावित क्षति रोक्न प्रशासनले तत्कालै कर्फ्यू आदेश जारी गरेको थियो।
अवस्था सामान्य बन्दै प्रशासनले पछिल्लो सुरक्षा मूल्यांकनपछि जिल्लाको अवस्था अहिले सामान्य र नियन्त्रणमा रहेको निष्कर्ष निकालेको छ। "सुरक्षा समितिको बैठकले स्थिति सामान्य भएको ठहर गरेपछि कर्फ्यू हटाउने निर्णय भएको हो," प्रजिअ भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
कर्फ्यू हटेसँगै गौर क्षेत्रको बजार, यातायात र जनजीवन बिस्तारै लयमा फर्कन थालेको छ। यद्यपि, सुरक्षा निकायले अझै पनि सतर्कता भने अपनाइरहेको छ।