आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रमध्ये अधिकांशको मतपत्र छपाइ सम्पन्न भएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म एक करोड ९१ लाख २४ हजार मतपत्र छापेर ढुवानीको तयारी अवस्थामा राखिएको छ भने अब ११ लाख ९९ हजार मतपत्र मात्र छपाइ गर्न बाँकी रहेको छ। प्रतिनिधिसभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु गरिएको थियो र पहिलो चरणमै १० लाख ९८ हजार २०० मतपत्र छापेर विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।
समानुपातिक प्रणालीतर्फ माघ १३ गतेसम्म दुई करोड ८ लाख ३० हजार मतपत्र छपाइ पूरा भइसकेको छ भने प्रत्यक्ष निर्वाचनतर्फ कुल दुई करोड ३३ लाख २३ हजार मतपत्र छपाइ गरिने लक्ष्य छ। हाल काठमाडौं उपत्यका आसपासका जिल्लाका मतपत्र मात्र छपाइ हुन बाँकी रहेको र अहिलेसम्म १७ हजार ७२८ बाकस मतपत्र प्याकिङ भइसकेको आयोगको भनाइ छ। दैनिक रूपमा करिब एक हजार बाकस प्याकिङ हुने र ११ देखि १५ लाख मतपत्र छपाइ भइरहेको छ।
छपाइ सम्पन्न भइसकेका मतपत्र आयोगले क्रमिक रूपमा कर्णाली, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका दुर्गम जिल्लामा पठाइरहेको छ भने सहरी तथा पहुँच सहज रहेका जिल्लामा ढुवानी प्रक्रिया अझै बाँकी रहेको जनाइएको छ।