चितवन । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा
१२ को वार्षिक परीक्षाअन्तर्गत नेपाली विषयको परीक्षामा चितवनको एक परीक्षा
केन्द्रमा गम्भीर लापरवाही भएको घटना बाहिर आएको छ। पर्सा स्थित इन्टरनेशनल कलेज
(परीक्षा केन्द्र) मा परीक्षा दिएका सुनगाभा कलेजका विद्यार्थीहरूले आफूहरूलाई
निर्धारित समयभन्दा कम समय दिएर अन्याय गरिएको गुनासो गरेका छन्।
विद्यार्थीहरूका अनुसार, प्रश्नपत्र प्रिन्ट गर्न समय लागेका कारण बिहान ८:०० बजे
सुरु हुनुपर्ने परीक्षा ८:३१ बजे मात्र सुरु भएको थियो। ढिलो सुरु भएको अवस्थामा
विद्यार्थीले ३ घण्टाको पूर्ण समय पाउनुपर्नेमा केबल २ घण्टा ४३ मिनेटमै
उत्तरपुस्तिका खोसिएको उनीहरूको दाबी छ। परीक्षा अवधिभरका विभिन्न घण्टीहरू
नियमअनुसार बजे पनि अन्तिम समयमा आएर निरीक्षकहरूले विद्यार्थीमाथि दबाब सिर्जना
गरेको पाइएको छ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको जानकारी
अनुसार, परिक्षा सुरू भएपछि पहिलो एक घण्टा सकिएको संकेत
घण्टी बिहान ०९:३५ मा बजेको थियो, सोही अनुसार परिक्षाको दोस्रो (२ घण्टा समय सकिएको)
संकेतात्मक घण्टी १०:३५ मा नै बज्यो । परिक्षाको यो समयतालिकालाई हेर्दा
परिक्षा बिहान ११:३५ समाप्त हुनुपर्ने देखिन्छ, तर सामान्यतय
परिक्षा केन्द्रहरुमा परिक्षा सक्न अन्तिम १५ मिनेट समय बाँकी रहँदा विद्यार्थीलाई
सचेत गराउन बज्ने घण्टी ११:०० बजे (२० मिनेट पहिले) नै बज्यो । परिक्षा सुरु भएपछि
हरेक एक घण्टामा बज्ने पहिलो र दोस्रो घण्टि बजेको समय अनुसार अन्तिम १५
मनेट बाँकी भएको सचेतक घण्टी ११:२० मा बज्नु पर्ने थियो । ११:०० बजे घण्टी बज्दा अन्योलमा परेका विद्यार्थीहरूले
समयबारे सोधखोज गरेका थिए। सो समयमा उपस्थित निरीक्षकहरूले 'यो ३० मिनेट बाँकी रहेको
घण्टी हो' भनी विद्यार्थीहरूलाई आश्वस्त पारेका थिए। तर, त्यसको
केही बेरमै अर्थात् ११:१३ बजे नै अन्तिम घण्टी बजाएर जबरजस्ती उत्तरपुस्तिका
खोसिएको विद्यार्थीहरूले बताएका छन्। नेपाली जस्तो लामो उत्तर लेख्नुपर्ने विषयमा
अन्तिमको महत्वपूर्ण १५–१७ मिनेट खोसिँदा धेरै जेहेन्दार विद्यार्थीहरूले समेत
उत्तर पूर्ण गर्न नपाएको गुनासो गरेका छन्।
"परीक्षा ढिलो सुरु हुनु
प्रशासनको गल्ती थियो, तर त्यसको सजाय
विद्यार्थीले भोग्नुपर्यो," एक विद्यार्थीले सामाजिक
सञ्जालमा लेखेका छन्। यो घटनाले विद्यार्थीको नतिजा र भविष्यमा सिधा असर पर्ने
भन्दै उनीहरूले सम्बन्धित निकाय र राष्ट्रिय परीक्षा बोर्डको ध्यानाकर्षण गराएका
छन्। विद्यार्थीहरूले यसलाई शिक्षा प्रणालीमाथिको प्रहार र परीक्षार्थीमाथिको मानसिक
दबाबको रूपमा व्याख्या गर्दै दोषीमाथि कारबाही र उचित न्यायको माग गरेका छन्।
परिक्षा समयमा सुरु गर्न नसक्नु प्रशासनको गल्ती हो, कमजोरी हो । तर
कहिलेकही प्राविधिक÷प्रशासनिक समस्या नआउँला भन्न सकिन्न, यस्तो अवस्थामा
१०–१५ मिनेटको समय फरक पार्न जानु स्वभाविक पनि भन्न सकिन्छ, तर यहाँ ३०
मिनेटको फरक पर्न गएको देखिन्छ । मानौ यो पनि स्वभाविक नै हो, केही ठुलै समस्या
भयो, होला ३० मिनेटको
समयअवधीमा परिक्षा केन्द्रले परिक्षालाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकेमा
यसलाई पनि यहाँ सम्म पनि कुरा स्वभाविक नै छ । तर विद्यार्थीलाई परिक्षा सुरु भए
देखि परिक्षा सकिने सम्मको समय जानकारी समेत सही र प्रभावकारी ढंगले दिन नसक्नु
लजास्पद कुरा हो । परिक्षा सवेंदनशील कुरा हो, विद्यार्थीको
भविष्य निर्धारण गर्ने आधार हो, न्यायोचित हुनुपर्छ तर यस्ता समान्य कुराहरुमा पनि लापरवाही
हुने÷लापरवाही गर्ने परिक्षा केन्द्रमा परिक्षा सही र न्यायपूर्ण ढंगले हुन्छ भन्ने
कुरा निकै शंकास्पद छ । सम्बन्धित निकायले
यस विषयमा ध्यान दिन जरुरी छ ।