व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंले आगामी फागुन १६ गतेभित्र काठमाडौँमा उपस्थित हुन देशभरका सर्वसाधारणलाई आह्वान गरेका छन्। सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै प्रसाईंले राष्ट्रको रक्षा र धर्मको संरक्षणका लागि ठुलो संख्यामा जनसहभागिता जुटाउन आग्रह गरेका हुन्। उनले अबको आन्दोलनमा राजपरिवारका सदस्यहरू समेत प्रत्यक्ष रूपमा सडकमा उत्रिने तयारी गरिरहेको दाबी गर्दै यसलाई निर्णायक अभियानको रूपमा चित्रण गरेका छन्।
प्रसाईंले आफ्नो सन्देशमा नेपालको वर्तमान अवस्थालाई संकेत गर्दै देशलाई 'युक्रेन' हुनबाट जोगाउनु पर्ने आवश्यकता औंल्याएका छन्। राष्ट्र, धर्म र नागरिकको हितका लागि राजपरिवारका सदस्यहरू मैदानमा आउन लागेको उल्लेख गर्दै उनले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तन, मन र वचनले ऐक्यबद्धता जनाउन अनुरोध गरेका छन्। राष्ट्रिय सुरक्षा र पहिचान जोगाउनु सबैको साझा जिम्मेवारी भएको भन्दै उनले फागुन १६ को समयसीमा भित्रै काठमाडौँ आइपुग्न विशेष जोड दिएका छन्।