दोलखा । प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा दोलखाको चुनावी समीकरण नयाँ मोडमा पुगेको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अजयबाबु शिवाकोटीको पक्षमा दुई प्रतिस्पर्धी उम्मेदवारले समर्थन जनाउँदै आफ्नो उम्मेदवारी फिर्ता लिएपछि जिल्लाको चुनावी वातावरण थप रोमाञ्चक बनेको छ।
नानु थामी- जसपा परित्याग गरी कांग्रेस प्रवेश
जनता समाजवादी पार्टी, नेपाल (जसपा)की समानुपातिक उम्मेदवार नानु थामीले आफ्नो उम्मेदवारी फिर्ता लिनुका साथै आइतबार औपचारिक रूपमा जसपा परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। दोलखाको राजनीतिमा प्रभावशाली मानिने थामीको कदमलाई कांग्रेस वृत्तमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। पार्टी प्रवेशपछि उनले आगामी निर्वाचनमा शिवाकोटीलाई विजयी गराउन सक्रिय रूपमा चुनावी अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले भनिन्, “मुलुकको समृद्धिका लागि सक्षम नेतृत्वको आवश्यकता छ, त्यसैले अजयबाबु शिवाकोटीलाई जिताउन म कांग्रेसमा समाहित भएकी हुँ।”
जेन्जी युवाको साथ: मैदानमा उत्रिए महेन्द्र खड्का
यसैगरी ‘जेन्जी’ युवाहरूको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका महेन्द्र खड्काले पनि शिवाकोटीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। खड्का विगत एक सातादेखि शिवाकोटीको पक्षमा जनमत निर्माणमा सक्रिय रहँदै आएका छन्। युवा पुस्तामा लोकप्रिय मानिने खड्काको समर्थनले शिवाकोटीलाई युवा मतदाताको उल्लेखनीय साथ प्राप्त हुने आकलन गरिएको छ।
दुई उम्मेदवारको समर्थनपछि दोलखामा कांग्रेसको चुनावी अभियान थप सशक्त बनेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।