जनकपुर । नेपाली कांग्रेसको मधेस सभा फागुन ६ गते जनकपुरधाममा आयोजना हुने भएको छ। यसअघि फागुन ७ गते हुने भनिएको सभा एक दिन अगाडि सारिएको हो। शनिबार बसेको नेपाली कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले फागुन ६ गते जनकपुरधामस्थित तिरहुतीया गाछीमा मधेस सभा आयोजना गर्ने निर्णय गरेको हो। बैठकले सभाको प्रचार–प्रसारको जिम्मेवारी नितेशकुमार गुप्तालाई तथा मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई दिने निर्णय पनि गरेको छ। सभाको तयारी, व्यवस्थापन तथा संगठनात्मक विषयमा व्यापक छलफल गर्दै सभालाई प्रभावकारी र सफल बनाउन मधेस प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रबाट सहभागीहरू जनकपुरधाम बोलाउने निर्णय गरिएको छ। उक्त सभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने केन्द्रका अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहने मधेस प्रदेश प्रचार–प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिएका छन्।