सरकारको निर्णय: चुनावमा खटिने सुरक्षाकर्मी र म्यादी प्रहरीको उपचार खर्च राज्यले व्यहोर्ने

nepaltext.com

काठमाडौं, १३ फागुन । सरकारले आसन्न निर्वाचनको सुरक्षामा खटिने क्रममा घाइते हुने सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन सुरक्षामा खटिएका टोलीलाई स्वास्थ्य उपचार र राहत दिने महत्वपूर्ण निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले बैठकका निर्णयबारे जानकारी दिँदै निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मीहरूको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताए। मन्त्रिपरिषद्को निर्णय सुनाउँदै प्रवक्ता अर्यालले भने, ‘निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा क्रममा लाग्ने खर्च नेपाल सरकारले ब्यहोर्ने।’

यसैगरी, निर्वाचनको अवधिमा कुनै पनि सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरूको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय समेत सरकारले गरेको छ। ‘सो अवधिमा निजहरूको मृत्यु भएमा परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।

निर्वाचनलाई भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न फिल्डमा खटिने सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्न सरकारले यस्तो व्यवस्था गरेको हो।

प्रतिक्रिया