काठमाडौं । रौतहटको सदरमुकाम गौरमा जारी अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला अदालतको आज (आइतबार) हुने सम्पूर्ण कामकारबाही स्थगित गरिएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटले अर्को आदेश नभएसम्मका लागि गौर नगरपालिका क्षेत्रमा निषेधाज्ञा र कर्फ्यु जारी गरेपछि अदालतको नियमित सेवा प्रभावित भएको हो। प्रशासनले मानिसहरूको आवतजावत, भेला, सभा र जुलुस प्रदर्शनमा पूर्ण रोक लगाएका कारण अदालतले सेवा स्थगन गर्ने निर्णय लिएको हो।
अदालतले एक सूचना जारी गर्दै आजका लागि तय भएका सबै प्रकारका सेवाहरू स्थगित गरिएको जानकारी दिएको छ। साथै, कर्फ्युका कारण अदालत उपस्थित हुन नसक्ने सेवाग्राहीहरूको तारिख तथा म्याद नगुज्रिने (थप हुने) व्यवस्था मिलाइएको समेत अदालतले प्रष्ट पारेको छ।
गत फागुन ७ गतेदेखि उत्पन्न भएको विवाद र हिंसात्मक झडपका कारण गौरमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। स्थिति सामान्य नभएसम्म सार्वजनिक सेवाहरू प्रभावित भइरहने देखिएको छ।