एमालेका पुराना हस्ती रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश

nepaltext.com

काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता एवं पूर्वराज्यमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। राष्ट्रियसभा गृहमा आयोजित एक विशेष समारोहका बीच नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उनलाई खादा र माला लगाएर पार्टीमा स्वागत गरे।

काठमाडौं क्षेत्र नम्बर ७ मा बलियो पकड भएका मानन्धरले २०७० र २०७४ को संविधानसभा तथा प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट चुनाव जितेका थिए। २०७० सालको निर्वाचनमा उनले कांग्रेसकी प्रमिला डंगोल र माओवादीकी हिसिला यमी जस्ता कडा प्रतिस्पर्धीलाई पराजित गरेका थिए भने २०७४ मा राप्रपाका विक्रम थापालाई हराउँदै संसदको यात्रा तय गरेका थिए।

विगतमा एमालेभित्र केही समय असन्तुष्ट रहेका मानन्धर २०७९ को निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र (बागी) उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका थिए। त्यसपछि केही समय राजनीतिक रूपमा निष्क्रिय देखिए पनि उनी पछिल्लो समय पुनः एमालेमै फर्किएर सक्रिय भएका थिए। तर, अन्ततः एमालेको साथ छोड्दै उनी आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्न कांग्रेसमा प्रवेश गरेका हुन्।

मानन्धरको आगमनले काठमाडौं क्षेत्र नम्बर ७ मा कांग्रेसको संगठन थप मजबुत हुने र आगामी निर्वाचनमा चुनावी समीकरणमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।

प्रतिक्रिया