काठमाडौं, २७ माघ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन गरिरहेको बजेटको ८५.९६ प्रतिशतमात्र खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले मंगलबार बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै बजेट खर्चको संशोधन गरेका हुन्। हाल सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ भने आवको अन्त्यसम्म १६ खर्ब ८८ अर्ब ३२ करोड रुपैयाँमात्र खर्च हुने अनुमान गरिएको छ, जुन सुरुमा विनियोजित रकमको ८५.९६ प्रतिशत बराबर हो। यस अवधिमा चालु खर्च ११ खर्ब २५ अर्ब ९७ करोड र पूँजीगत खर्च २ खर्ब ४३ अर्ब ३० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ। वित्तीय व्यवस्थातर्फको बजेट ३ खर्ब १९ अर्ब ४ करोड रुपैयाँ बराबर खर्च हुने अपेक्षा गरिएको छ। विनियोजन अनुसार चालु बजेट ११ खर्ब ८० अर्ब, पूँजीगत बजेट ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थामा ३ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ। पुस मसान्तसम्म चालु खर्च लक्ष्यको ४१.२५ प्रतिशत, पूँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय व्यवस्थामा ४०.९५ प्रतिशत खर्च भएको छ। चालु आवको आर्थिक वृद्धि लक्ष्य ६ प्रतिशत रहने अनुमान भने यथावत राखिएको छ।