कांग्रेस पहिलो दल बन्ने आधार प्रष्ट छः विश्वप्रकाश शर्मा

nepaltext.com

रुपन्देही । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबाट नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो र पहिलो दलका रूपमा उदाउने दाबी गरेका छन्। कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गतको पार्टी सदस्य भेटघाट कार्यक्रममा बोल्दै उनले देशका विभिन्न स्थानमा पुगेर प्राप्त गरेको सूचना र राजनीतिक आकलनका आधारमा कांग्रेस पहिलो पार्टी बन्ने संकेत स्पष्ट देखिएको बताएका हुन्।

उनले कांग्रेस फेरि बहुमतको दिशातर्फ अग्रसर रहेको उल्लेख गर्दै पार्टीले देशको नेतृत्व सम्हाल्नेगरी जनविश्वास पुनः आर्जन गरिरहेको बताए। वर्तमान परिस्थितिमा जनताको मन जलेको, मान्छेको मनोबल भाँचिएको र राज्यप्रति विश्वास टुक्रिएको अवस्था रहेको उल्लेख गर्दै उनले अहिलेको समयलाई गम्भीर आत्ममूल्यांकन र रूपान्तरणको क्षणका रूपमा लिनुपर्ने धारणा राखे।

‘यो बेला जेनजी विद्रोह सबै गलत भयो, भदौ २३ अघि सबै ठीक थियो भन्ने होइन,’ उनले भने। परिवर्तनको मागलाई स्वाभाविक भन्दै उनले पुरानालाई पूर्णरूपमा अस्वीकार गरेर मात्र नयाँ निर्माण सम्भव नहुने बताए। उनका अनुसार पुरानो भनेको सधैं गलत र नयाँ भनेको जन्ममितिका आधारमा सही हुँदैन।

‘नयाँ भनेको सोच, दृष्टिकोण र नेतृत्वको बदलावले हुन्छ । साँच्दै बदलिएको हो र नयाँ भएर आएको कांग्रेस नै हो’ शर्माले भने। उनले जेनजी विद्रोहले देशमा परिवर्तनको आवश्यकता उजागर गरेको उल्लेख गर्दै परिवर्तनको सुरुवात आफैंबाट हुनुपर्नेमा जोड दिए। “संसार बदल्नुछ भने आफूबाटै सुरु गर्नुपर्छ,” उनले स्पष्ट पारे।

प्रतिक्रिया