७ फागुन, सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा बिहीबार दिउँसो पेस्तोल पड्किँदा एक बालक घाइते भए। मलंगवा नगरपालिका–४ को ढाँका बोर्डर टोलमा पेस्तोल पड्किँदा १५ वर्षीय आकाश राम घाइते भएका हुन्।
घर नजिकै निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा रहेको वस्तु फेला पारेपछि आकाशले त्यसलाई खोलेर हेरेका थिए। नक्कली वस्तु ठानेर चलाउने क्रममा पेस्तोल अचानक पड्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईले जानकारी दिए।
गोली लागेर आकाशको दाहिने हातको पन्जामा चोट लागेको छ। उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा लगियो। चिकित्सकका अनुसार उनको अवस्था अहिले मध्यम छ।
प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल बरामद गरेको छ। पेस्तोलमा पड्किएको खोका अड्किएको अवस्थामा भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मन्दिरभित्र पेस्तोल कसले र किन राख्यो भन्ने विषयमा प्रहरीले खोजी गरिरहेको छ।