दोलखा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित कराते प्रतियोगिता 'World Book of Record ' मा नाम राख्न सफल

nepaltext.com

दोलखा l समुद्री सतहबाट करिब ३४०० मिटर उचाइमा अवस्थित कालिन्चोक गाउँपालिका–कुरीमा आयोजित “प्रथम हाई अल्टिच्युड महिला तथा पुरुष खुल्ला फुलकन्ट्याक्ट (क्योकुशिन–सेइसिन) कराँते प्रतियोगिता–२०८१” विश्व कीर्तिमानमा सूचीकृत भएको छ। अत्यन्त चिसो मौसम र कम अक्सिजनको अवस्थाबीच सम्पन्न उक्त प्रतियोगितालाई उच्च हिमाली क्षेत्रमा गरिएको दुर्लभ खेलकुद गतिविधिका रूपमा लिइएको छ।

नेपाल क्योकुशिन सेइसिन काइकान कराँते संघ र दोलखा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा २०८१ फागुन ११ गते उक्त प्रतियोगिता सम्पन्न भएको थियो। उच्च उचाइका कारण खेलाडीहरूको शारीरिक क्षमता, सहनशीलता तथा प्रतिस्पर्धात्मक क्षमताको विशेष परीक्षण हुने भएकाले प्रतियोगिता चुनौतीपूर्ण र महत्वपूर्ण मानिएको आयोजकले जनाएको छ। प्रतियोगिता सम्पन्न भएको केही दिनपछि, हिजो मात्र “वर्ल्ड बुक अफ रेकर्ड्स, यूके” ले उक्त प्रतियोगितालाई आधिकारिक रूपमा विश्व कीर्तिमानमा दर्ता गरेको हो, जसले यस कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान दिलाएको छ।

सो अवसरमा प्रतियोगितासँग सम्बन्धित प्रमाणपत्र “वर्ल्ड बुक अफ रेकर्ड्स, यूके” द्वारा प्रदान गरिएको थियो, जसलाई नेपाल क्योकुशिन सेइसिन काइकान कराँते संघका केन्द्रीय अध्यक्ष तथा ब्रान्चचिफ शिहान अशोक कुमार श्रेष्ठले ग्रहण गर्नुभएको आयोजकले जनाएको छ। उक्त प्रमाणपत्रले प्रतियोगितालाई विश्वस्तरमा मान्यता प्राप्त भएको संकेत गर्दछ।

शिहान अशोक कुमार श्रेष्ठका अनुसार ३४०० मिटर जस्तो उच्च उचाइमा फुलकन्ट्याक्ट कराँते प्रतियोगिता आयोजना गरिएको यो विश्वकै पहिलो घटना भएको दाबी गरिएको छ। उनका अनुसार यसले नेपाली कराँते खेललाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्‍याएको छ भने हिमाली क्षेत्रमा पनि ठूला खेलकुद कार्यक्रम आयोजना गर्न सकिने सम्भावना देखाएको छ।

प्रतियोगितामा पुरुष खुल्ला तौल समूहमा शिव बहादुर भुजेल प्रथम, सुलभ माझी द्वितीय, अभय राउत र रविन्द्र लुहार तृतीय भए। त्यस्तै महिला खुल्ला तौल समूहमा सपना ऐडी प्रथम, सुस्मा तामाङ द्वितीय, उषा रावल र मनिता राई तृतीय भए भने कृष्टी खड्का उत्कृष्ट खेलाडी घोषित भइन्। विजेता खेलाडीहरूलाई पदक तथा सम्मानपत्र प्रदान गरिएको थियो।

प्रतियोगिताका क्रममा शिहान अशोक कुमार श्रेष्ठले काता विधाअन्तर्गत ५४ स्टेपको ‘शुशिहो काता’ प्रदर्शन गर्नुभएको थियो, जुन कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको थियो। उक्त प्रदर्शनले दर्शक तथा सहभागीहरूको विशेष ध्यान आकर्षित गरेको आयोजकले जनाएको छ।

कालिन्चोक गाउँपालिकाका वडा सदस्य मैना तामाङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमले उच्च हिमाली क्षेत्रमा खेलकुद गतिविधि विस्तार गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। आयोजकका अनुसार यस्ता कार्यक्रमले स्थानीय अर्थतन्त्र चलायमान बनाउन र क्षेत्रको पहिचान बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया