२०२० को चुनावमा २४ हजार गैर नागरिकहरूले मतदान गरेको ट्रम्पको दाबी

nepaltext

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपति निर्वाचनमा २४ हजारभन्दा बढी गैरनागरिकले अवैध रूपमा मतदान गरेको दाबी गरेका छन् ।

ट्रम्पका अनुसार अमेरिकी जनगणना ब्युरोले सन् २०२० को मतदाता विवरणलाई नागरिकतासम्बन्धी तथ्याङ्कसँग मिलाएर अध्ययन गरिरहेको छ । उनका अनुसार हालसम्म १२ करोड ८० लाख मतदाताको प्रारम्भिक विश्लेषण गर्दा २४ हजारभन्दा बढी गैरनागरिकले मतदान गरेको पुष्टि भएको छ ।

बाँकी करिब ३ करोड २० लाख मतदाताको विवरणसमेत विश्लेषण भइरहेको भन्दै ट्रम्पले गैरनागरिक मतदाताको संख्या अझ बढ्न सक्ने दाबी गरेका छन् । उनले यही प्रसङ्गमा आफूले सन् २०२० को राष्ट्रपति निर्वाचन जितेको दाबीसमेत दोहोर्‍याएका छन् ।

 

ट्रम्पले ‘सेभ अमेरिका ऐन’ पारित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । जनवरी २९ मा अमेरिकी कांग्रेसमा पेस गरिएको प्रस्तावित ‘सेफगार्ड अमेरिकन भोटर एलिजिबिलिटी (सेभ) अमेरिका ऐन’प्रति टिप्पणी गर्दै उनले उक्त कानुन पारित गर्नुपर्ने बताएका हुन् ।

प्रस्तावित कानुनले अमेरिकामा सङ्घीय निर्वाचनसम्बन्धी मतदाता दर्ता प्रक्रियामा थप कडाइ गर्ने व्यवस्था गरेको छ । यसअन्तर्गत मतदाता दर्ताका क्रममा वैध फोटो परिचयपत्रसँगै अमेरिकी नागरिकताको भौतिक प्रमाण, जस्तै राहदानी वा जन्म प्रमाणपत्र, अनिवार्य गर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै, बिरामी, शारीरिक अशक्तता, सक्रिय सैन्य सेवा वा यात्राजस्ता निश्चित अवस्थाबाहेक हुलाकमार्फत हुने मतदानलाई सीमित गर्ने तथा सङ्घीय डाटाबेस प्रयोग गरी सङ्घीय मतदाता सूचीबाट गैरनागरिकलाई हटाउन राज्यहरूलाई निर्देशन दिने व्यवस्था पनि प्रस्तावित ऐनमा रहेको बताइएको छ ।

प्रतिक्रिया