काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका लागि सिफारिस भएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई मन्त्री भनेर नबोलाउन आग्रह गरेका छन्।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमा सिफारिस गरेलगत्तै सामाजिक सञ्जालमार्फत पुनले लेखेका छन्, "मलाई कसैले पनि मन्त्री नभन्नु होला। कसैलाई मन्त्री भन्नै रहर भए ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु होला।"
उनले आफूलाई बधाई दिन फोन नगर्न र खादा–माला लिएर नआउन पनि आग्रह गरेका छन्। बरु शिक्षा, विज्ञान र प्रविधि क्षेत्रमा पाँच महिनाभित्र गर्न सकिने ठोस काम वा सुझाव भए ह्वाट्सएपमार्फत पठाउन उनले जनाएका छन्।
पुनले आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिनुपर्ने कार्यक्रम रहेको छ।
६ असोज २०८२, सोमबार ११:४१ मा प्रकाशित