हुँदै नभएको मागलाई लिएर प्रतिनिधिसभा विघटन गरिनु प्रणालीमाथि धावा हो: ओली

nepaltext.com

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई फेरि प्रयोगशाला बनाउन खोजिएको बताएका छन्। पार्टीको चुनावी प्रतिबद्धता सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले देश बनाउने र भत्काउने शक्तिहरूबीच तीव्र द्वन्द्व चलेको उल्लेख गरे। निर्वाचनको मुखमा सिङ्गो समाज प्रश्नैप्रश्नको घेरामा रहेको भन्दै उनले वर्तमान राजनीतिक अवस्थाको कडा आलोचना गरे।

सम्बोधनका क्रममा ओलीले गत भदौ २३ र २४ गतेका घटनालाई लिएर चारवटा गम्भीर प्रश्न उठाए। उनले ती घटनाहरूको पृष्ठभूमि र उद्देश्यमाथि शङ्का गर्दै प्रश्नहरूको जवाफ मागेका छन्।

ओलीले उठाएका चार प्रश्नहरू:

  • भदौ २३ अघि देश बनिरहेको थियो कि बिग्रिँदै थियो? कि देश बिग्रिएको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार गरियो?

  •  भदौ २३ को प्रदर्शनमा कसले घुसपैठ गर्‍यो? शान्तिपूर्ण प्रदर्शन गरेर घर फर्किन लागेका युवालाई निषेधित क्षेत्रतर्फ कसले र किन धकेल्यो?

  • भदौ २३ र २४ का घटना स्वतःस्फूर्त थिए कि योजनाबद्ध? निजी सम्पत्ति, व्यवसाय र सर्वसाधारणलाई किन लक्ष्य बनाइयो? सुरक्षाकर्मीमाथि किन आक्रमण गरियो?

  •  संविधान र व्यवस्थाको सन्दर्भमा 'जेनजी' प्रदर्शनको कुनै माग थिएन। हुँदै नभएको मागलाई लिएर प्रणालीमाथि नै धावा बोल्ने गरी प्रतिनिधिसभाको विघटन किन गरियो?

यी प्रश्नहरूको जवाफ आफूहरूले पनि खोजिरहेको ओलीले बताए। उनले अहिले देशी-विदेशी शक्तिहरू मिलेर देशमा अस्थिरता निम्त्याउन खोजेको आरोप समेत लगाए। देशको विकास रोक्न नियोजित रूपमा अराजकता फैलाइएको उनको दाबी छ।

प्रतिक्रिया