नेतृत्व चयनमा जनताले विवेक प्रयोग गर्न सकेको छैन : श्रीराम गुरुङ

nepaltext.com

काठमाडौं । उज्यालो नेपाल पार्टीका नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार श्रीराम गुरुङले वर्तमान राजनीतिक नेतृत्व र परिपाटीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। बुधबार बुढानिलकण्ठमा आयोजित एक आमसभालाई सम्बोधन गर्दै उनले देश सम्भावनाले भरिए पनि सही नेतृत्व नहुँदा विकास पछि परेको टिप्पणी गरे।

गुरुङले नेपाली जनताले नेतृत्व चयनमा विवेक प्रयोग गर्न नसकेको भन्दै अब सचेत हुनुपर्ने बेला आएको बताए। "हाम्रो देश प्रकृति र सम्भावनाले धनी छ। तर, हामी अझै पनि चिल्लो भाषण गर्ने र आफूलाई समेत रोजगारी दिन नसक्ने व्यक्तिहरूलाई नेता मानेर हिँडिरहेका छौं," उनले भने।

सम्बोधनका क्रममा उनले संसद् जस्तो नीति निर्माण गर्ने सर्वोच्च निकायको गरिमा घट्दै गएकोमा चिन्ता व्यक्त गरे। "हाम्रा भाइबहिनीको भविष्य निर्माण गर्ने र देशको नीति कोर्ने सर्वोच्च स्थानलाई आज खेलौनाको रूपमा परिणत गरिँदैछ," उनले थपे, "यसको गरिमा जोगाउनु हाम्रो साझा दायित्व हो।"

नेता गुरुङले मतदाताहरूलाई यस पटक सही र सक्षम नेतृत्व चयन गर्न आग्रह गर्दै देशको विकास र समृद्धिको यात्रामा जिम्मेवार भएर अगाडि बढ्न अपिल समेत गरे।

प्रतिक्रिया