जनकपुरधाम । हुलाकी राजमार्गअन्तर्गत औरही गाउँपालिका–५ स्थित सहजा खोलामा फेरि कार दुर्घटना भएको छ। गए मध्यराति राजविराजबाट जनकपुरतर्फ जाँदै गरेको बागमती प्रदेश बी एबी ७८२१ नम्बरको कार खोलामा खस्दा चालकसहित तीनजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालका अनुसार दुर्घटनामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलिया निवासी २२ वर्षीय चालक अभिषेककुमार राय, ३९ वर्षीया दिपिकाकुमारी उपाध्याय र २० वर्षीया प्रिति पट्टेल घाइते भएका हुन्। उनीहरूलाई सिरहास्थित प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि जनकपुरस्थित प्रादेशिक अस्पताल रिफर गरिएको छ भने दुर्घटनाग्रस्त कार घटनास्थलमै रहेको छ।
सहजा खोलामा करिब १० वर्षअघि नै पुल निर्माण सुरू गरिए पनि ठेकेदार र सम्बन्धित सरकारी निकायको उदासिनताका कारण काम अलपत्र परेको स्थानीयको गुनासो छ। पुल नबन्दा यसअघि पनि यहाँ पटक–पटक सवारी दुर्घटना हुँदै आएको उल्लेख गर्दै पछिल्लो दुर्घटनापछि आक्रोशित स्थानीयले हुलाकी राजमार्ग अवरुद्ध गर्दै आन्दोलन थालेका छन्। प्रदर्शनकारीहरूले दोषी ठेकेदार र नियामक निकायमाथि तत्काल कारबाही गर्न, पुल निर्माणका लागि स्पष्ट समयसीमा तोक्न र पुल नबन्दासम्म दुर्घटना रोक्ने वैकल्पिक व्यवस्था गर्न माग गरेका छन्।
स्थानीय अगुवा सन्तोष यादवले भने, ‘१० वर्षसम्म पुल नबन्नु राज्यकै असफलता हो । हरेक दुर्घटनापछि आश्वासन मात्र पाइयो, काम कहिल्यै भएन । अब दुर्घटना कुर्ने होइन, समाधान चाहियो ।’ पुल निर्माणमा भएको लापरबाही र जिम्मेवारीबाट पन्छिँदै आएका सम्बन्धित निकायको उदासीनताले सहजा खोला आज पनि सर्वसाधारणका लागि जोखिमपूर्ण बनेको स्थानीयको आरोप छ।